Home TV पर्वत गाउँको एक कुनामा टेलिमेडिसिन (दूर—चिकित्सा) सेवा

पर्वत गाउँको एक कुनामा टेलिमेडिसिन (दूर—चिकित्सा) सेवा

by ईलालटिन
0 comment

पर्वत। पर्वतको ग्रामीण भेगमा एक दशक अघि स्थापना गरिएको टेलिमेडिसिन (दूर—चिकित्सा) सेवा प्रभावकारी बनिरहेको छ ।

बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रस्टको सहयोगमा ठानामौलाको चारभन्जयाङमा सञ्चालित टेलिमेडिसिनमा बिरामीको अवस्थाबारे प्रत्यक्ष विदेशी चिकित्सकहरूसँग परामर्श गरी उपचार गरिने भएकोले यस भेगमा मात्र नभई नजिकका जिल्लाहरूबाट समेत बिरामी सेवा लिन आइपुग्ने गरेका छन् ।

टेलिमेडिसिन (दूर—चिकित्सा) सेवाको सुरुवात भएसँगै यस गाउँका स्थानीयहरू उपचार गर्न सदरमुकाम कुश्मा, पोखरा लगायतका सहरमा जान छाडेको धेरै भइसक्यो । पहिले सडकको पहुँच नहुनु र दुर्गम गाउँका कारण सामान्य स्वास्थ्य सेवा पनि नपाउने अवस्थाका बीच यस ठाउँमा टेलिमेडिसिन सेवाको सुरुवात गरिएको थियो ।

स्वीनफेन च्यारिटेबल ट्रस्टमा आबद्ध चिकित्सकहरूबाट टेलिफोन र इन्टरनेटमार्फत बिरामीहरूलाई स्वास्थ्य परामर्श दिने गरिएको स्वास्थ्य प्रमुख प्रार्थना पुनले बताइन् ।

यस चार भन्ज्याङ टेलिमेडिसिन (दूर—चिकित्सा) सेवामा उपचार हुन नसकेका बिरामीहरूलाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल र काठमाण्डौँको टिचिङमा पठाइने गरिएको छ । धेरै पटक अस्पताल धाएर पनि रोग निको हुन नसकेका बिरामीहरू यस ठाउँमा आउने गर्छन् ।

बेलायतमा रहेका चिकित्सकहरूसँग प्रत्यक्ष परामर्श लिएर उपचार गर्न सकिने हुँदा यहाँ बिरामीहरूको आकर्षण बढेको हो । स्थानीय स्तरमा अन्य स्वास्थ्य चौकीहरू भए पनि बिरामीहरूको रोजाइमा भने टेलिमेडिसिन (दूर—चिकित्सा) सेवा पर्ने गरेको छ ।

यस ठाउँबाट बेलायतमा गएर बसेका चारभञ्जयाङ तमु सेवा युकेको विशेष पहल र स्वीनफेन च्यारिटेबल ट्रस्टले टेलिमेडिसिन (दूर—चिकित्सा) सेवाको स्थापना गरेको हो । यस टेलिमेडिसिनमा हुने खर्चको सम्पूर्ण व्यवस्थापन बेलायत, हङकङ लगायत देशमा रहेका नेपालीहरूको सहयोगमा हुँदै आएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com