Home समाचार काँग्रेस मकवानपुरमा नयाँ नेतृत्वका लागि तीन जनाबीच भिडन्त

काँग्रेस मकवानपुरमा नयाँ नेतृत्वका लागि तीन जनाबीच भिडन्त

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली काँग्रेस मकवानपुरको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबारबाट सुरु भएको जिल्ला अधिवेशनमा आज सोमबार मतदानको कार्यक्रम तय गरिएको छ । मतदान बिहान ८ बजेबाट सुरु हुने कार्यतालिका रहेको थियो । तर, मतदान स्थलमा आवश्यक व्यवस्थापन र नेपाल बन्दको प्रभावका कारण केही समय ढिला गरेर मतदानको कार्यक्रम संचालन गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले जानकारी दिए । उनका अनुसार मतदानमा जिल्लाका १०२ जना वडा सभापति, क्षेत्रीय सभापति तथा प्रतिनिधि र बुथ प्रतिनिधि गरी करिव १ हजार ९ सय जना मतदाता सहभागि रहने छन् ।

सभापतिमा ३ जनाको उम्मेदवारी

काँग्रेस मकवानपुरको नेतृत्वको लागि सभापति पदमा ३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत सुवेदीका अनुसार अधिवेशन अन्तर्गत आइतबार बिहानबाट मनोनयन दर्ताको कार्यक्रम रहेको थियो भने आइताबार राति नै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको र काँग्रेस मकवानपुरको नेतृत्वको लागि सभापति पदमा ३ जनाले उम्मेदवारी दिएका छन् । सभापति पदमा हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र जिल्ला समितिका सल्लाहकार जयराम लामिछानेले सभापति पदमा मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

-काँग्रेस मकवानपुरको नेतृत्व सर्वसम्मत रुपमा छनौटका लागि आइतबार बिहानसम्म चलेको छलफल निष्कर्षविहीन बनेपछि निर्वाचनबाट नेतृत्व छान्ने प्रक्रिया सुरु भएको थियो । काँग्रेस मकवानपुरको नेतृत्वको लागि संस्थापन पक्षबाटै २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट लामा र पराजुली उम्मेदवार छन् भने संस्थापन इतर पक्षबाट लामिछाने उम्मेदवार रहेका छन् । त्यस्तै काँग्रेस मकवानपुरको २ उपसभापति पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने २ सचिव पदका लागि ६ र २ सहसचिव पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।

८ जना सदस्य निर्विरोध

काँग्रेस म-कवानपुरको अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छन् । चुनावी प्रकृया अन्तर्गत हिजो आइतबार भएको मनोनयन दर्तापछि जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि यसको आधिकारिक घोषणा हुन भने बाँकी रहको छ । निर्विरोध निर्वाचित हुनेमा दलित तर्फको सदस्य डम्बर बहादुर विक, थाहा नगरपालिका महिला तर्फको सदस्य सुनमाया भोम्जन, मकवानपुरगढी गाउँपालिकाको महिलातर्फको सदस्य भीमकुमारी न्यौपाने, ईन्द्रसरोवर गाउँपालिकाको महिला तर्फको सदस्य निर्मला रुम्ब, र खुलातर्फको सदस्य बिष्णुकुमार कार्की निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै निर्विरोध निर्वाचित हुनेमा राक्सिराङ गाउँपालिकाको महिलातर्फको सदस्य बच्चीमाया नेगी, बागमती गाउँपालिकाको खुलातर्फको सदस्य शेरबहादुर राना मगर ‘क्षितिज’ र बकैया गाउँपालिकाको खुल्लातर्फको सदस्य सेतेमान बल रहेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com