काठमाडौं । नेपाल धितोपत्र बोर्डले मागेको स्पष्टीकरणको जवाफ कम्पनीले आइतबार दिने भएको छ। उसले कुन समूहको रहने र कसरी कारोबार हुनेलगायत नेपाल राष्ट्र बैंकको निर्देशन आकर्षित हुने/ नहुने भन्ने विषयमा स्पष्ट पार्दै जवाफ पठाउने भएको हो। कम्पनीले अहिलेको व्यवस्था जे छ। त्यही विषय लेखी पठाउने छ। बोर्डले कुन समूहमा पर्छ भनेर सोधेकोमा कम्पनीले संस्थापक समूहमै पर्ने भनी सूचनामै जानकारी दिएकोले सोही समूहमा पर्ने भनेर जवाफमा लेखेको छ।
कारोबार कसरी हुने भन्ने विषयमा, धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको नियम ३८ ले अन्य समूहको शेयरको बारेमा बोलेको छ। जसमा अन्य समूहमा रहने शेयरधनीको शेयर तीन वर्ष सम्म लकिङ पिरियडमा रहने व्यवस्था छ। तर कम्पनीले उक्त समय समाप्ति भइसकेकोले यस समूहका शेयरधनीले कारोबार गर्न पाउने भनेर जवाफ दिँदै छ। अर्को तर्फ संस्थापक समूहको हकमा प्रबन्ध पत्र नियमावलीले उक्त समूहको शेयर पाँच वर्षसम्म लक हुने व्यवस्था गरेको छ। उक्त व्यवस्था अनुसार पनि पाँच वर्ष पुरा भइसकेकोले सो नियम पनि आकर्षित नहुने जिकिर सहितको जवाफ कम्पनीको छ। नेपाल राष्ट्र बैकले जारी गरेका निर्देशनहरु आकर्षित हुन्छन् कि हुँदैनन् ? भनेर सोधिएकोमा कम्पनीले अहिलेसम्म केन्द्रीय बैंकले कुनै त्यस्ता निर्देशन नदिएको।
अहिलेसम्म आएका निर्देशनहरूमा राष्ट्र बैंकले यस अघि नियमन गर्दै आएका संस्थाहरुको लागि मात्रै आएकोले अहिलेसम्म आकर्षित नभएको भन्ने प्रस्टीकरण कम्पनीको छ। आउने दिनमा राष्ट्र बैंकले कुनै निर्देशन दिए त्यस विषयमा भने कम्पनीले अहिले नै भन्न नसक्ने जवाफमा भनेको छ। कम्पनीको बोलकबोलमा निवेदन दिएकाहरूको हकमा भने उसले पठाएको जवाफमा बोर्डले दिने प्रतिक्रियामा निर्भर हुने बताएको छ। बोर्डले कुनै व्यवस्थामा परिवर्तन गरी पठाएमा भने लगानीकर्तालाई अन्यायमा पार्ने गरी निर्णय नगर्ने कम्पनीको भनाइ छ। जसको लागि उसको बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलसँग सल्लाह गरेर नयाँ प्रक्रिया थाल्ने कम्पनीको भनाइ छ।
एचआइडिसिएलले आफ्नो संस्थापक समूहको अबितरित हकप्रद शेयरलाई बोलकबोल मार्फत बिक्री गर्न लागेको थियो। उसले अबितरित तीन करोड ३० लाख कित्ताको बोल कबोल प्रक्रिया अघि बढाएको थियो। जसको अन्तिम म्याद आइतबारसम्म थियो। तर नियामक निकाय नेपाल धितोपत्र बोर्डले बिहीबार साँझ पत्र लेख्दै उक्त प्रक्रिया स्थगन गर्न भनेको थियो। उसले बिक्री गर्न लागिएको शेयर कुन समूहमा रहने र त्यसको कारोबार कसरी हुने स्पष्ट पारेपछि मात्रै प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। तिनै विषयलाई कम्पनीले आइतबार प्रष्ट पार्दै जवाफ पठाएको हो। मेरोलगानी ।