काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्ने वा अन्य विकल्पमा जाने भन्ने विषयमा निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा जुटेका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ भर्चुअल छलफलमा जुटेका हुन् । ‘अहिले विज्ञहरूसँग छलफल गरिरहेका छौँ । विज्ञबाट आएको सुझावका आधारमा दिउँसो ३ जिल्लाका प्रमुखको बैठकले धारणा तय गर्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘निषेधाज्ञा के गर्ने भन्ने भोलि निर्णय गर्छाैँ ।’
कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सङ्ख्या बढेपछि सरकारले काठमाडौं उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा जारी गरेको हो । पहिलो चरणमा १० गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि तीन जिल्लाकै बैठक बसेर १७ गते रातिसम्मलाई निषेधाज्ञा थप गरिएको थियो । तेस्रो पटक थप गरिएको निषेधाज्ञा २४ गते (भोलि) राति सकिँदै छ ।