Home अर्थ/वाणिज्य सावधिक बीमा योजनामा सर्वसाधारणको उच्च आकर्षण, ठूलो हिस्सा बाग्मति प्रदेशले नै ओगट्यो

सावधिक बीमा योजनामा सर्वसाधारणको उच्च आकर्षण, ठूलो हिस्सा बाग्मति प्रदेशले नै ओगट्यो

by ईलालटिन
0 comment

काठमाडौँ । सावधिक जीवन बीमा योजनामा सर्वसाधारणको उच्च आकर्षण देखिएको छ। बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बीमामा सावधिक जीवन बीमा योजना खरिद गर्नेको संख्या उच्च देखिएको हो।सावधिक जीवन बीमा योजना निश्चित अवधिसम्ममा बीमित जीवित रहेको अवस्थामा एकमुस्ट रकम प्राप्त गर्ने, यदि बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले एकमुस्ट दाबी रकम भुक्तानी गर्ने योजना हो। यो योजना अनुसार बीमितले तोकिएको अवधिसम्ममा बीमाशुल्क भुक्तानी गनुपर्दछ। बीमा अवधि समाप्त भएपछि बीमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्दछ।

बीमा अवधि समाप्त नहुँदै बीमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवालाले प्राप्त गर्दछ। यस योजना अन्तर्गत बीमितको जोखिमको बहनसँगै भुक्तानी गरेको बीमाशुल्कमा बोनस सहित रकम फिर्ता पाउने भएपछि सर्वसाधारणको उच्च आकर्षण देखिएको हो। चालु आर्थिक वर्षको पुस महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७८ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। त्यसमध्ये सावधिक जीवन बीमा योजना अन्तर्गत २१ लाख ७२ हजार ७३७ वटा बीमालेख जारी गरी ४ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो जीवन बीमा कम्पनीहरुले पुस महिनामा आर्जन गरेको कुल बीमाशुल्कको ३४ प्रतिशत हुन आउछ।

यस्तै, यस अवधिमा ४ लाख १८ हजार ६६ वटा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख जारी गरी ३ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कुल बीमाशुल्कको २८ प्रतिशत हो। जीवन बीमा कम्पनीहरुले पुससम्ममा संकलन गरेको कुल बीमाशुल्कमा बालबच्चा सावधिक जीवन बीमा योजनाको १५ प्रतिशत, रुपन्तरित जीवन बीमा योजनको १४ प्रतिशत, आजीवन जीवन बीमाको ३ प्रतिशत, लघुबीमाको २ प्रतिशत, बैदेशिक रोजगार म्यादी बीमाको पनि २ प्रतिशत, एकल बीमाशुल्क जीवन बीमा योजनामा र म्यादी जीवन बीमा योजनामा एक/एक प्रतिशत योगदान रहेको छ।

कुल बीमाशुल्ककाे ४३ प्रतिशत बाग्मति प्रदेशकाे याेगदान 

बीमा समितिले बीमाको दायरा विस्तार गर्न प्रदेश सरकार तथा स्थानिय जनप्रतिनिधिहरुसँग छलफल तथा अन्तरकृया कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ। तर, त्यसको प्रभाव भने तत्काल देखिएको छैन।बीमा समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनामा १२ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। त्यसमध्ये ५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क बाग्मति प्रदेशबाट मात्रै संकलन भएको छ। यो कुल बीमाशुल्कको ४२.८९ प्रतिशत हो।

यस्तै लुम्बिनी प्रदेशबाट १५.१२ प्रतिशत अर्थात १ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ, प्रदेश १ बाट ११.८४ प्रतिशत अर्थात १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १०.४३ प्रतिशत अर्थात एक अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।सबैभन्दा कम बीमाशुल्क भने कर्णाली प्रदेशबाट ५६ करोड ६६ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ। यो कुल बीमाशुल्कको ४.४३ प्रतिशत हो।मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com