भागवत भट्टराई
काठमाण्डौँ ।
कांग्रेसमा भावी नेतृत्वकाे बहस चलिरहेकै बेला ३० साउनमा विमलेन्द्र निधि पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे । १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा देउवा निवास पुगेका निधिले १३औँ महाधिवेशनका क्रममा आफूलाई दिइएको प्रतिवद्धता स्मरण गराए ।
त्यतिबेला निधिले देउवालाई भनेका थिए, ‘अहिले महामन्त्रीसमेत नउठेर तपाईंलाई सभापति जिताउन नै केन्द्रित हुन्छु । तपाईंले नजिते हामीले जित्नुको अर्थ पनि रहँदैन । अर्को निर्वाचनमा मलाई सहयोग गर्नुपर्छ ।’ निधिको यो प्रस्तावलाई देउवाले स्वीकार गरेको उनीनिकट नेता दाबी गर्छन् ।
त्यही कुरा स्मरण गराउन बूढानीलकण्ठ पुगेका निधिलाई देउवाले फेरि अर्को आश्वासन दिए । यो पटक आफूलाई नै सघाउन र १५औँ महाधिवेशनमा आफ्नो टिमबाट निर्विकल्प अघि सारिने प्रस्ताव उनले राखे । तर, देउवाको प्रस्ताव निधिलाई चित्त बुझेन । बैठकबाट निस्कने बेलामा निधिले भने, ‘यसपटक म जसरी पनि उम्मेदवारी दिन्छु, यसमा तपाईंंले सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’ निधिले म उम्मेदवार भनेपछि संस्थापन पक्षमा मात्रै होइन, त्यसको असर संस्थापक इतरमा पनि परेको छ ।
निधिले पार्टी सभापतिमा आफ्नो उम्मेदवारी दाबी गरेसँगै नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रित दौडधुप र तरङ्ग सिर्जना भएको छ । देउवा लामो समयदेखि असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता थिए । निरन्तर देउवालाई निधिको साथ रहेको थियो । देउवालाई निरन्तर साथ दिएका नेताहरूमा उनै पर्छन् । पार्टी विभाजन २०५९ देखि पार्टी एकीकरण २०६४ सालसम्म र त्यसपछि पनि निधिको सहयोग देउवालाई रह्यो ।
विगतमा देउवाको साथमा रहेका प्रकाशमान सिंह, विजयकुमार गच्छदार, नारायण खड्का, बलबहादुर केसी, दीपकुमार उपाध्याय, मीनेन्द्र रिजाललगायतका नेताहरू सबैले पहिले देउवा गुटमा रहे पनि पछि गुट परिवर्तन गरेका थिए । यी सबै नेताले देउवाको साथ छोड्दा पनि निधिको साथ निरन्तर रहेको थियाे । यसै कारण अब निधिलाई देउवाले साथ दिनुपर्ने उनी पक्षका नेताहरूको दाबी छ ।
लामो समय असन्तुष्ट पक्षको अगुवाइ गरेर कांग्रेस नेतृत्वमा पुगेका देउवा पनि यसअघिका नेताहरूले जस्तै पुन: आफू नै सभापति दोहोर्याउने याेजनामा छन् । देउवाको तयारी र संगठन विस्तार पनि त्यतातर्फ केन्द्रित देखिन्छ । तर, फेरि पद दोहोर्याउने लोभ देखाएकाे सन्दर्भमा निधिले उम्मेदवारी घाेषणा गरेपछि संस्थापन पक्षमा मात्रै होइन, त्यसको असर संस्थापन इतरमा पनि परेको छ ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले निधिकाे सभापतिमा चुनाव लड्ने घोषणाले देउवालाई राजनीतिक रूपमा ‘मनोवैज्ञानिक झट्का’ लागेको बताउँछन् । वाग्लेले चुनाव आउन अझै लामो समय भएका कारण अहिले नै समीकरण कस्तो बन्छ भन्ने अवस्था नरहे पनि संस्थापन पक्षमा निधिको दाबी र पौडेल-कोइराला पक्षबाट शंशाक तथा शेखर कोइराला र प्रकाशमान सिंहले पनि सभापतिमा दाबी गर्नुले पुस्ता हस्तान्तरणलाई सहयोग पुगेको वाग्लेकाे भनाइ छ । उनी भन्छन, ‘निधिकाे घाेषणाले देउवालाई राजनीतिक रूपमा झट्का लागेकाे छ । साथै, नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अवसर पनि बनेकाे छ ।’
निधि दुई पटक सामान्य प्रशासनमन्त्रीका साथै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, शिक्षामन्त्री, भौतिक पूर्वधार तथा यातायातमन्त्री र पार्टीको नेतृत्व गर्दै गृहसहित उपप्रधानमन्त्री भइसकेका छन् । उनी पार्टीमा उपसभापतिको जिम्मेवारीमा अहिले रहेकाले पनि सभापतिकाे उम्मेदवारी स्वाभाविक ठान्छन् केही नेताहरू । निधिनिकटमा एक केन्द्रीय सदस्यका अनुसार अहिले निधिको पक्षमा बाैद्धिक नेताका रूपमा पहिचान बनाएका प्रदीप गिरी र महेश आचार्यसमेत लागेका छन् । गिरीले त अभियान नै चलाएका छन् ।
१२ वर्षकाे उमेरमा जेल परी जेलबाटै एसएलसी दिएका निधि २४ वर्षको उमेरमा नेविसंघको सभापति भएका थिए, त्यो पनि कांग्रेस संस्थापक बीपी कोइरालाको मन जितेर ।
देउवालाई निरन्तर साथ दिएका निधि सभापतिको उम्मेदवार बन्दा संस्थापन इतरका पक्षमा पनि पौडेलको विकल्पमा थप बल पुग्ने पौडेल पक्षकै नेताको स्वीकारोक्ति छ । यसले प्रकाशमान सिंह, शंशाक कोइराला, शेखर कोइरालाको उम्मेद्वारीमा सहयोग पुग्ने देखिन्छ ।
सभापतिका प्रमुख दाबेदार शशांकनिकट रहेका कांग्रेस नेता डा. मीनेन्द्र रिजाल देउवा उम्मेदवार नबनेर निधिलाई सपोर्ट गरेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न नचाहने प्रवृत्तिमा ठूलो परिवर्तन आउने ठान्छन् । त्यस्तै, निधि–देउवा एकै पटक सभापतिमा उम्मेदवार हुँदा गुणात्मक प्रतिस्पर्धा बढ्ने रिजालको दाबी छ ।
रिजाल भन्छन्:
निधिको उम्मेदवारीले हाम्रो समूहमा पनि एक जनालाई मात्र उम्मेदवार बन्ने दबाब रहँदैन । कम्तीमा पाँच जनासम्म सभापतिको उम्मेदवार देखिन सक्छन् । अहिलेको संस्थापन पक्षमा विमलेन्द्र निधि उम्मेदवार बन्ने भएपछि कि त शेरबहादुर देउवाले छोड्नुपर्याे । उम्मेदवार बन्नु भएन भने त्यसले कांग्रेसको इतिहासमा ठूलो परिवर्तन ल्याउँछ ।
शेरबहादुर देउवा र विमलेन्द्र निधि दुवै जना चुनाव लड्ने हुनुभयो भने त्यसले इतरमा एक जना मात्रै चुनाव लड्ने बाध्यता रहँदैन । त्यसो हुनेबित्तिकै झण्डै पाँच नेता उम्मेदवार हुन्छन् सभापति पदका लागि ।
दोस्रो राउण्डमा गएर मात्र सभापति कसले जित्छ भन्ने हुन्छ । पाँच जना सभापति उम्मेदवार हुँदा मुख्य तीन पदमा २५ जना उम्मेदवार देखिन्छन् । कांग्रेस नेताहरू सहजै रिटायर्ड हुन नसक्ने भएकाले चुनावले २० जना नेतालाई एकसाथ रिटायर्ड गराउन सहयोग पुग्छ ।निधिले आफूनिकटका नेताहरूसँग आफू सहमतिको वातावरण बनाउने प्रयासमा रहेको बताएका छन् । पहिलो चरणमा सहमतिको सभापतिका लागि देउवासँगै सभापतिकाे आकांक्षा देखाएका पौडेल, शशांक, शेखर, प्रकाशमासँग विभिन्न तवरबाट छलफल अघि बढाएको बताएका छन् ।
त्यस्तै, सहमतिको सभापति हुन नसक्दा संस्थापन पक्षबाट आफू उम्मेदवार बन्ने । त्यसो पनि हुन नसक्दा पनि आफू सभापतिमा दाबी गर्ने र सोही समयमा टिम बनाउने गरी तयारी गरेकाे बताएका छन् । उनको साथमा अहिले प्रदीप गिरी, नरहरि आचार्यका साथै आनन्द ढुंगाना, फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, महेन्द्र यादव, नारायण खड्का, हरिप्रसाद नेपाल, किरण पौडेललगायतका नेताको साथ छ ।
संस्थापन पक्षका केही नेताहरूको बुझाइ अन्ततः निधिले देउवालाई नै सपोर्ट गर्ने छ । ‘अहिले धेरै नेताले दाबी गर्नुभएको छ तर धेरैले आफ्नो दाबी गर्दैगर्दा उपसभापतिको भूमिकामा रहेका निधिले भन्नु स्वाभाविक हो,’ देउवानिकट ती नेता भन्छन्, ‘अन्ततः निधिले देउवालाई नै सहयोग गर्ने हो ।’
निधिनिकट नेताहरू भने देउवाका सहयोगी भए पनि ‘एस म्यान’ नभएकाले निधि अघि बढ्ने दाबी गर्छन् । ‘नागरिकता विधेयकका विषयमा निधिले आफ्नो अडान कायम गर्नु नै भएको हो, गृहमन्त्री हुने समयमा पनि देउवाले नै भनेको गर्नुपर्दा राजीनामासमेत दिन तयार हुनु नै भएको हो,’ ती नेताले भने, ‘निधि आफ्नो अडान कायम राख्ने नेता हुन् । विगतमा आफ्नो दाबी थिएन, अहिले दाबी हुँदा देउवालाई दबाब छ ।’
१३औँ महाधिवेशनबाट तेस्रो धार स्थापित गरेको कृष्णप्रसाद सिटौला पक्ष निधिको पक्षमा भने देखिँदैन । निधि पक्षका एक नेता भन्छन्, ‘निधिले सभापतिमा स्वाभाविक देखिनेछ तर अब देउवा पक्षमा सिनियर हुँदाहुँदै पनि दोस्रो तहका नेताहरूजस्तै फेरि उपसभापतिमा चित्त बुझाउनुपर्ने हुन्छ । उहाँले कार्यवाहक सभापतिको भूमिका खोजेको बुझिन्छ ।’
राजनीतिक विश्लेषक वाग्ले दोस्रो तहमा नेतृत्व हस्तान्तरण भएर युवाको साथ लिएर अघि बढ्नुपर्ने बहस चलेको सन्दर्भमा निधि स्वाभाविक उम्मेदवार भए पनि अहिलेको समीकरण के हुन्छ र उम्मेदवार को-को ब्याक हुन्छन् भन्नेले अर्थ राख्ने बताउँछन् ।
कांग्रेस संस्थापक महेन्द्रनारायण निधिपुत्र भएकाले पार्टीमा पुरानाे लिगेसीले पनि उनलाई फाइदा पुग्ने देखिन्छ ।
त्यसाे त बुबाको वैचारिक तथा व्यावहारिक लिगेसीलाई उहीँ रूपमा अघि बढाउन नसकेको आरोप शंशाक र प्रकाशमानलाई जस्तै उनलाई पनि छ ।
महेन्द्रनारायण निधिले कांग्रेसमा मुख्यतया चार विशेषताका नेताका रूपमा चिनिन्छन् । त्यागी, अहिंसावादी, राष्ट्रवादी र स्वच्छ छवि । उनी कहिले सरकारमा जान नरुचाएर पार्टीलाई नै सबल बनाउने काममा केन्द्रित भए । भोक हडताल बसेर शासकलाई दबाब दिएको, कठिन परिस्थितिमा धेरै नेताहरू भारततर्फ लागेको अवस्थामा आफ्नै देशमा बसेर संघर्ष गरेको तथा लामो राजनीतिक जीवन आर्थिक अनुशासनको हिसाबले सबैभन्दा स्वच्छ देखिएको बताइन्छ । यी गुणमा निधिले निरन्तरता दिन नसेको आरोप उनीमाथि छ ।
-
सधैँ देउवालाई साथ दिएका निधिले सभापतिको उम्मेदवार उठ्ने दाबी गरेपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस थप पेचिलाे बनेको विश्लेषकहरू बताउँछन् ।
यद्यपि कांग्रेसमा भविष्य नदेखेर तराईका कांग्रेस नेताहरू अधिकांशले पार्टी छोड्दा निधि र डा. रामवरण यादव कांग्रेसमा नै बसेर तराईको जनमत जोगाएको जस उनीमाथि छ । २०६२/६३ जनआन्दोलनमा तराईको राजनीतिमा रहेका कांग्रेसका नेताहरू महन्थ ठाकुर, जेपी गुप्ता, विजय गच्छदारलगायतका नेताहरूले कांग्रेस त्यागेर मधेश केन्द्रित दल खोलेका थिए । यस्तो अवस्थामा पनि निधिलगायतका केही नेताहरूले कांग्रेसको भोट बैंकका रूपमा हेरिने तराईको जनमत जोगाएको उनीनिकट नेताहरूको दाबी छ ।
निधि उठेको सन्दर्भमा देउवा र निधिको सम्बन्धमा ब्रेक लाग्न सक्ने आँकलन पनि गर्न थालिएको छ । देउवा ब्याक हुने अवस्थामा भने उनको रोजाइमा निधि नभई शशांक हुने भएकाले पनि उनीहरूबीचको सम्बन्धमा ब्रेक लाग्ने देखिन्छ । तर, निधि नउठेमा भने देउवा निधिसँगै हुनेछन् ।
सधैँ देउवालाई साथ दिएका निधिले सभापतिको उम्मेदवार उठ्ने दाबी गरेपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस थप पेचिलाे बनेको विश्लेषकहरू बताउँछन् ।