Home बुलेट न्युज तत्काल लकडाउन गर्नुपर्ने पक्षमा छैन स्वास्थ्य मन्त्रालय

तत्काल लकडाउन गर्नुपर्ने पक्षमा छैन स्वास्थ्य मन्त्रालय

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको ठहर गर्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कक्षा १० सम्मका सबै विद्यालय आगामी माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। साथै २५ जना बढी मानिस एकै ठाउँ जम्मा नहुन र सार्वजनिक स्थलहरूमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन भनेको छ। हिजोको सिसिएमसीको सिफारिसले धेरैलाई अब लकडाउन हुन्छ वा हुँदैन भन्ने चासो छ। सरकारले लकडाउन गर्न निर्णय लिने अधिकार सिसिएमसी र जिल्लास्तरीय डिसिसिएमसीलाई दिएको छ। यी दुबै निकायले निर्णय लिँदा स्वास्थ्य मन्त्रालयको धारणालाई बढी आधार मानेर लकडाउन गर्ने/नगर्ने निर्णय लिने हो।

विगतमा पनि स्वास्थ्य मन्त्रालय र विज्ञहरूको राय लिएर विभिन्न चरणमा लकडाउन गरिएको थियो। काठमाडौं उपत्यकाको हकमा पछिल्लो एक सातायता संक्रमण तीव्र फैलिएसँगै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू निरन्तर छलफलमा छन्। अहिलेसम्म भएका छलफलले अझै सबै पक्षसँग थप परामर्श गरेर र जोखिम मूल्यांकन गरी थप निर्णय लिने भनिएको छ। स्वास्थ्य मन्त्रालय भने तत्काल कुनै प्रकारको लकडाउन गर्नुपर्छ भन्ने पक्षमा छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले तत्काल लकडाउनमा गइहाल्नु नपर्ने बताएका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै अधिकारीले भने, ‘तत्काल सबै क्षेत्र बन्द गर्ने कुरा हामीले गरेको छैन। पूरा बन्दाबन्दी गरेर मान्छेलाई घरमै थुन्नेबारे सरकारले अहिले सोचेको पनि छैन। मन्त्रालयले त्यसो भनेको पनि छैन। उनले स्वास्थ्य प्रणाली नै धरासायी बन्ने स्थिति आइपर्‍यो भने मात्र लकडाउनको रणनीतिमा जानुपर्ने बताए।’तत्काल लकडाउनमा गइहाल्नपर्दैन। तर संक्रमण बढ्दै गयो र केही उपाय लागेन, स्वास्थ्य प्रणाली नै धरासायी भयो भन्ने अवस्था सिर्जना भयो भने त के विकल्प रहन्छ र?,’ अधिकारीले भने। यद्यपि संक्रमणलाई थप फैलिन नदिए अहिले भएका स्रोतले थेग्नसक्ने सहप्रक्वता अधिकारीको दाबी छ। उनले अहिले पनि जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरे संक्रमणलाई रोक्न सकिने भन्दै एउटै समयमा धेरै बिरामी पर्ने अवस्था कम गर्ने सके अहिले आइसियू बेडलगायत स्रोत साधनले पुग्ने बताए।

‘हामीले संक्रमण दरलाई यसरी तल राख्नुपर्‍यो ताकि अस्पतालको स्रोत साधनले पुग्न सकोस्,’ अधिकारीले भने, ‘महामारीमा संक्रमण जिरो बनाउँछु भन्ने त हुँदै हुँदैन तर एउटै समयमा धेरै मानिस बिरामी हुने अवस्थालाई कम गर्न सकिन्छ। त्यस्तो भयो भने हामीसँग भएका कुराले पुग्छ र गाह्रो हुने अवस्था हुँदैन।’अधिकारीका अनुसार कोभिड बिरामीको उपचारका लागि अहिले देशभर झन्डै २८ सय आइसियू बेड र एक हजार भेन्टिलेटर तयारी अवस्थामा रहेका छन्। जुन संख्या दोस्रो लहरको भन्दा दोब्बर बढी हो। किनकी गत वैशाखयता दोस्रो लहर सुरू हुँदा र उत्कर्षमा पुग्दासमेत देशभर एक हजारको हारहारीमा आइसियू बेड थिए। त्यसैले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न सके त्यसपश्चात आउने समस्यालाई अहिले भएका स्रोतले धान्नसक्ने मन्त्रालयको बुझाइ छ।

संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि तत्काल लकडाउन गर्नु नपर्ने बताउँछन्। उनले अहिले फैलिरहेको संक्रमण छिटो फैलिए पनि त्यसले घातक बनाउने सम्भावना निकै कम रहेको भन्दै पहिले त्यो अवस्थाको निर्क्यौल गर्नुपर्ने जनाए। अर्को कुरा अहिलेको अवस्था पहिलो र दोस्रो लहरको अवस्था नरहेको भन्दै अहिले धेरै मानिसहरूले खोप लगाएको भन्दै त्यसले पनि संक्रमण भइहाले पनि जटिलता हुनबाट धेरै जोगाउने पुनको बुझाइ छ। साथै अहिले भेटिएका ओमिक्रोन संक्रमितहरूको अवस्था पनि सामान्य रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘अहिले पो ओमिक्रोन ओमिक्रोन भनेर परीक्षण गरेपछि देखियो। यो अगाडिदेखि नै फैलिरहेको थियो। तर जो ओमिक्रोन पुष्टि भएका संक्रमितहरू हुनुहुन्छ, उहाँहरूको स्वास्थ्य सामान्य छ भन्ने कुरा आएको छ। पहिलो, दोस्रो लहरजस्तो भएको भए त्यस्तो हुँदैनथ्यो।’

उनले भारत पनि राम्रो उदाहरण हुनसक्ने भन्दै अहिले भारतमा दैनिक लाखभन्दा बढी संक्रमितहरू भटिए पनि डेल्टा भेरियन्टले जस्तो अक्सिजन र अस्पताल नपाएर मृत्यु भएको भन्ने खबर नआएको बताए। ‘अचानक संक्रमण बढ्यो भन्दैमा तर्सिनेभन्दा पनि वास्ताविकता के हो भनेर बुझ्नुपर्छ,’ पुनले भने, ‘दक्षिण अफ्रिकाबाट सुरू भएको ओमिक्रोनले अहिलेसम्म कहाँ कस्तो प्रभाव पार्‍यो भनेर हेर्नुपर्छ। त्यसैले तर्सिएर लकडाउनमा गइहाल्नुपर्ने अवस्था देख्दिनँ।’सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com