केशव पाठक
पोखरा ।
पोखराको निजी अस्पतालबाट कोरोना जितेर एक युवती घर फर्किनुभएको छ । संक्रमण पुष्टि भएपछि पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा (२९ की अञ्जली गुरुङ शुक्रवार कोरोना भाइरसबाट मुक्त भई घर फर्किनुभएको हो । उहाँ कोरोना संक्रमण पुष्टि भएपछि निजी अस्पतालमा उपचार गरेर निको हुने पहिलो व्यक्ति बन्नुभएको छ ।
चरक मेमोरियल अस्पतालले निजी स्तरबाट पहिलो पटक पोखरामा कोरोना संक्रमितको उपचार गरेको हो । पोखरामा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्र र लेखनाथको सरुवा तथा सङ्क्रामक रोग अस्पतालमा सरकारी स्तरबाट कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ ।
चरक अस्पतालमा कार्यरत गुरुङ गत साउनको अन्तिम सातामा स्वास्थ्यमा समस्या आएपछि घरमा आराम गरिरहेकोमा भदौ १ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँमा गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर उपचार गराएको हो । १८ दिनको अस्पताल बसाई तथा कोरोना पुष्टि भएको ११ दिनपछि उहाँ कोरोना संक्रमण मुक्त भएको उपचारमा संलग्न चिकित्सक डा। क्लारा पौडेलले बताउनुभयो ।
कोरोनालाई जितेर घर फर्किदै गरेकी अञ्जलीले संक्रमण मुक्त हुँदा निकै खुसी लागेको अनुभव सुनाउनु भयो । उहाँले भन्नुभयो–“मलाई ज्वरो, खोकी सङै सास फेर्न निकै समस्या भएको थियो, शुरुमा त म एकदमै नभर्स भएँ, रोएँ, कमजोर पनि महसुस भयो तर डाक्टर र नर्सहरूले एकदमै सर्पोट गर्नुभयो, म आफैले पनि केयर गरे म अव निको भएर घर फर्कँदै छु ।”

आफू कार्यरत अस्पतालबाट नै कोरोना निको भएर घर फर्किन पाएकोमा खुसी व्यक्त गर्दै उहाँले आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । “कोरोना लाग्यो भनेर कति जना त नजिकै पर्न पनि डराउँछन्, तर मलाई त सबैले आउने सोध्ने र एकदमै नर्मल बिरामी जस्तै गरेर केयर गर्नु भयो” उहाँले भन्नुभयो ।
अव दुई साता घरमा नै आराम गरे पछि काममा फर्कने बताउँदै अञ्जलीले कोरोना वाट कोही पनि डराउन नहुने बताउनुभयो । “कोरोना लाग्यो भन्दैमा डराउनु पर्ने अवस्था छैन, आफूले स्वास्थ्यको एकदमै केयर गर्न, सरसफाइको ध्यान दिन तथा इम्युनिटी पावर बढाउने खानाहरू खान म सबैलाई सल्लाह दिन्छु” उहाँले भन्नुभयो । कोरोना लाग्नु अघि नै आफूले स्वास्थ्यका प्रोटोकलहरू राम्रो सँग लागु गरेमा कोरोना वाट बच्न सकिने र कोरोना सङक्रमण हुने अवस्थाबाट जोगिन सकिने उहाँले बताउनुभयो ।
छोरी कोरोना संक्रमणबाट मुक्त भए छोरीलाई लिन अस्पताल पुगेका अञ्जलीका बुबा अरुण गुरुङका आँखाबाट खुसीका आशु झरिरहेका थिए । “पहिला त कोरोना पोजेटिभ हुने बित्तिकै निकै डर लाग्यो, हामी निकै आत्तिएका थियौँ,” उहाँले भन्नुभयो–“ छोरीलाई कुन अस्पतालमा रिभर गर्ने हो , के हुने हो भन्ने सर पनि लाग्यो तर अस्पतालले यहीँ नै राखेर उपचार गरेर निको गरायो।”
छोरीमा कोरोना पोजेटिभ भए पछि आफ्नो ६ जनाको परिवार पुरै क्वारेन्टिनमा बस्नु परेको गुरुङले बताउनुभयो । “घरमा ७८ वर्षकी आमा सहित ६ जना थियौँ, कान्छी छोरी पनि दिदीलाई कुर्न अस्पताल नै बसिन अहिले हामी सबैको नतिजा नेगेटिभ आएको छ,” उहाँले भावुक हुँदै भन्नुभयो–“पहिला छोरीलाई पोजेटिभ भएको सुन्दा निकै दुःख लागेको थियो, हामी सबै चिन्तामा थियौँ, तर अहिले परिवार सबै खुसी छौँ ।” आफ्नी छोरीको उपचारमा संलग्न सबै चिकित्सक, नर्स र अस्पतालका कर्मचारीलाई उहाँले आभार समेत प्रकट गर्नुभयो ।
अञ्जलीको उपचारमा संलग्न चिकित्सक डा। क्लारा पौडेलले अञ्जली निको भएर घर फर्कन लागेकोमा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो–“महामारी शुरु हुने बित्तिकै हामी कोरोनाका बिरामीहरू कसरी उपचार गर्ने भन्ने बारे तयारीमा समेत थियौँ, त्यही समयमा बिरामी भएर घरमा बस्नुभएकी हाम्रो स्टाफ उपचारको लागि अस्पताल आउनुभयो, पछि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ भएको पायौँ ।” अस्पतालमा छुट्टै आइसोलेसन कक्षमा राखेर उपचार गरिएकोमा बिरामी छिट्टै निको भएको उहाँले बताउनुभयो । शुरु–शुरुमा कोरोना भन्ने बित्तिकै केही डराउने गरेको भए पनि अहिले सबै उपचारमा संलग्न स्टाफहरू ढुक्क भएर काम गर्न थालेको समेत उहाँले बताउनुभयो । पोखरा न्यूज