Home बुलेट न्युज नेत्रविक्रम चन्द ‘विप्लव’पार्टीमा पहिरो

नेत्रविक्रम चन्द ‘विप्लव’पार्टीमा पहिरो

by ईलालटिन
0 comment

मकवानपुर । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरमा पहिरो गएको छ ।

विप्लव नेतृत्व नेकपाका मकवानपुर जिल्ला सेक्रेटरी जयराम रायमाझी ‘पासाङ’सहित एक सय ३८ जना नेता तथा कार्यकर्ताले सामूहिक पार्टी परित्याग गरेका छन् । मकवानपुरको उत्तरी क्षेत्रस्थित भीमफेदी गाउँपालिका- ९ को बसीफाँट विद्यालयमा आज शुक्रबार आयोजित कार्यक्रममा सबैलाई पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीभित्र नेतृत्वको अन्तरविरोध, कार्यकर्ता संरक्षण गर्न नसक्नु र तीव्र असन्तुष्टिले नेकपामा रहिरहनु नसकेको भन्दै उनीहरूले परित्याग गरेका छन् । जिल्ला सेक्रेटरी पासाङसहित, सैन्य ब्यूरो सदस्य बिमल थिङ, राज्य सदस्य रेखा थापा मगर, जिल्ला सदस्य सन्दीप ढुंगाना, अमर रुम्बा, जुरे घिसिङ, नेत्र गौतमलगायतले पार्टी परित्याग गरेका हुन् ।

कार्यक्रमको संयोजन पार्टीका पूर्व जिल्ला इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ले गरेका थिए । उनले करिब ८ महिनाअघि नै पार्टी परित्याग गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ज्वालालाई ३ पटक पक्राउ गरी मुद्दा चलाएको थियो । पार्टीले कार्यकर्ता संरक्षण गर्न नसक्दा र नेतृत्वको अन्तरविरोधको कारण ठूलो संख्यामा नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्नुपर्ने अवस्था आएको बताए ।

पार्टी परित्याग गर्दै एक सय ३८ जनाले स्वतन्त्र जीवन बिताउने बताएका छन् । मकवानपुरमा यसअघि करिब २२ जना नेता तथा कार्यकर्ताले पार्टी छोडिसकेका छन् । सरकारले २८ फागुन २०७५ मा विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com