काठमाडौं । कोरोनाको कहर बढ्दो क्रममा रहेका बेला चिन्ता बढाउने थप एक खबर बाहिर आएको छ । विश्वमा पहिलोपटक फ्लु र कोरोनाले एकैपटक मानिसको शरीरमा हमला गरेको मामिला भेटिएको छ । यसलाई कोरोना र इन्फ्लुएन्जाको डबल इन्फेक्सन ‘फ्लोरोना’ भनिएको छ । फ्लोरोनामा एउटै बिरामीमा कोरोना र इन्फ्लुएन्जाको भाइरस पाइएको छ ।
रिपोर्टका अनुसार इन्फ्लुएन्जा- र कोरोनाको डबल इन्फेक्सनको विश्वमा यो पहिलो केस हो । मानिसको शरीरमा फ्लु र कोरोनाको भाइरस प्रवेश गरेर यो डबल इन्फेक्सन भएको हो । हालै इजरायलमा यस्तो मामिला भेटिएको अरब न्युजले बताएको छ । फ्लोरोनाको पहिलो केस एक गर्भवती महिलामा भेटिएको उल्लेख छ । उनी राबिन मेडिकल सेन्टरमा भर्ती भएकी थिइन् ।
इजरायलको पत्रिका Yedioth Ahronoth का अनुसार फ्लोरोनाको मामिला भेटिएकी महिलाले कोरोनाविरुद्धको खोप लगाएकी थिइनन् । ‘फ्लोरोना’ कोरोनाको नयाँ भेरियन्ट भने होइन । यो मात्र एकै पटक कोरोना र इन्फ्लुएन्जाको डबल इन्फेक्सन हो । इजरायलका डाक्टरहरूका अनुसार पछिल्लो हप्तामा देशमा इन्फ्लुएन्जा (रुघाखोकी) का मामिला बढ्दै गएपछि फ्लोरोनाबारे अध्ययन सुरु गरिएको छ । काहिरा युनिभर्सिटी हस्पिटलका डाक्टर नहला अब्देल वहाबले इजरायली मिडियासँग कुराकानी गर्दै भनेका छन्, ‘फ्लोरोना इम्युन सिस्टमको ठूलो कमीको सङ्केत हुनसक्छ । किनभने एकै समय दुई भाइरस मानिसको शरीरमा प्रवेश गरिरहेको छ ।’
मायोक्लीनिकका अनुसार कोरोना र फ्लुले एकै साथ गम्भीर जटिलता पैदा गर्ने आशंका गरिएको छ । विज्ञका अनुसार -फ्लु र कोरोनाले एकै पटक हमला गर्दा गम्भीर बिरामीलाई थप खतरा पैदा गर्नुका साथै यो चाँडै फैलिन पनि सक्छ । फ्लोरोनाले बिरामीमा निमोनिया, श्वास प्रश्वासमा समस्या, हृदयघातजस्ता गम्भीर समस्या देखिनसक्ने आशंका गरिएको छ । विश्व स्वास्थ्य संगठनले पनि एकै समय फ्लु र कोरोनाको सङ्क्रमण हुनु सम्भव रहेको बताएको छ । रातोपाटी ।
