Home बुलेट न्युज कांग्रेस महाधिवेशनबाट सधैं रित्तो हात फर्कने चितवनले यसपालि जित्यो पाँच केन्द्रीय सदस्य

कांग्रेस महाधिवेशनबाट सधैं रित्तो हात फर्कने चितवनले यसपालि जित्यो पाँच केन्द्रीय सदस्य

by ईलालटिन
0 comment

चितवन ।   केन्द्रीय सदस्यको दौडमा सहभागी भएर सधैं रित्तो हात फर्किने नेपाली कांग्रेस चितवनले यसपटक ५ जना केन्द्रीय सदस्य पाएको छ।१४ औं महाधिवेशनमा चितवनका १७ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए। एक जनाले उम्मेदवारी फिर्ता लिएपछि १६ जना चुनावी प्रतिष्पर्धामा उत्रिए। बिहीबार मतगणना सकिँदा चितवन कांग्रेसका पूर्वसभापति टेकप्रसाद गुरूङ र बिना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भए। गुरूङ र श्रेष्ठ आदिवासी जनजाती खुलातर्फबाट निर्वाचित भएका हुन्।

यसअघि आदिवासी जनजाती महिलातर्फ प्रदेश सांसद अञ्जनी श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।बुधबार भएको मतगणनामा दलित महिलातर्फबाट दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार निर्वाचित भइन्।यसअघि ३५ जना खुला केन्द्रीय सदस्यमा युवा नेता दिनेश कोइराला निर्वाचित भए। कोइरालाले नेपाली कांग्रेस चितवनको ईतिहासमै पहिलो पटक निर्वाचित केन्द्रीय सदस्य बन्ने अवसर प्राप्त गरे।  २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कोइराला पार्टीको निर्देशनपछि उम्मेदवारी फिर्ता लिन बाध्य भएका थिए। पार्टीले नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाललाई मेयरमा समर्थन गर्दै कोइरालाको उम्मेदवारी फिर्ता गराएको थियो। पछि नेपाली कांग्रेसले उनलाई चितवन क्षेत्र नम्बर ३ बाट प्रदेश सांसदको उम्मेदवार पनि बनायो। तर उनी पराजित भए।

कोइरालासँगै खुलामा उम्मेदवारी दिएका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.तिर्थराज खनियाँ केन्द्रीय सदस्य बन्न सकेनन्।यसपटक चितवनबाट खुल्ला केन्द्रीय सदस्यमा २ जना, महिला खुलामा १ जना, दलित महिलामा २ जना, आदिवासी जनजाती खुलामा ४ जना, आदिवासी जनजाती महिलामा २ जना, खस आर्य खुलामा २, खस आर्य महिलामा २ र थारू खुलामा १ जनाको उम्मेदवारी परेको थियो।चितवनबाट खुला महिला केन्द्रीय सदस्यमा पूर्व सांसद सावित्री बोगटी पाठक, दलित महिला केन्द्रीय सदस्यमा संविधानसभा सदस्य विष्णुमाया परियार, आदिवासी जनजाती खुलामा पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठ र युवा नेता भरत गुरूङ, आदिवासी जनजाती महिलामा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिताकुमारी गुरूङ, खसआर्य खुलातर्फ पार्टीका पूर्वी जिल्ला सभापति रामकृष्ण घिमिरे र प्राध्यापक प्रकाश अधिकारी, खसआर्य महिलामा विनु रायमाझी पौडेल, गिता देवकोटा र थारू खुलामा साजनकुमार महतो पनि केन्द्रीय सदस्यको दौडमा थिए।

केन्द्रीय सदस्य बनेका शिक्षा व्यवसायी उमेश श्रेष्ठ भोजपुर घर भए पनि चितवनबाट संविधानसभाको सदस्य बनेका थिए। उनी प्रतिनिधिसभामा समानुपातिक कोटाबाट सांसद बन्दै वर्तमान सरकारमा राज्यमन्त्री छन्। सभापति शेरबहादुर देउवाका निकट मानिने उनी संस्थापन समूहको प्यानलमा परेका थिए।  टेकप्रसाद गुरूङ यसअघि केन्द्रीय सदस्यको उम्मेदवार बनेर पनि पराजित भएका थिए।चितवनमा नेपाली कांग्रेसको जनाधार राम्रो भएर पनि पार्टीको केन्द्रीय समितिमा लामो समयदेखि यहाँको प्रतिनिधित्व हुन सकेको थिएन। जिल्ला पार्टी भित्रको किचलोका कारण चितवनमा जिल्ला अधिवेशन पनि हुन सकेको छैन। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com