Home समाचार एमसिसीबारे अध्ययन गर्न झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल

एमसिसीबारे अध्ययन गर्न झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल

by ईलालटिन
0 comment

काठमाडौं ।  सत्तारूढ गठबन्धन दलहरूबीच आइतबार बालुवाटारमा भएको बैठकले एमसिसीबारे अन्य दलसँग छलफल गरेर टुंगोमा पुग्न तीन सदस्यीय कार्यदल गठन गरेको छ। एमसिसीलाई अगाडि बढाउने कि के गर्ने भन्ने विषयमा सर्वदलीय छलफलपछि बैठकले यस्तो निर्णय गरेको हो। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सदस्य छन्।

खनाल तत्कालीन नेकपाद्वारा गठित एमसिसी अध्ययन कार्यदलमा समेत संयोजक थिए। उक्त कार्यदलमा भीम रावल र तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य थिए।आजको सर्वदलीय बैठकमा बोल्दै खनालले यसअघि आफ्नै नेतृत्वमा कार्यदल बनेर अध्ययन गरेकाले धेरै कुरा थाहा भएको र अन्य दलहरूसँग थप छलफल गर्न सकिने बताएका थिए। त्यसपछि यसपालि पनि उनकै संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको थियो। यसबारे सेतोपाटीसँग कुराकानी गर्दै खनालले भने, ‘मैले यसअघि एमसिसीबारे अध्ययन गरिसकेको छु। यसमा केही प्रावधान सच्याउन जरूरी छ भनेर भनेको छु। त्यसपछि मेरै नेतृत्वमा कार्यदल बनेको हो।’

उनले अगाडि भने, ‘यो कार्यदलले थप अध्ययन गरेर आफ्नो रिपोर्ट बुझाउँछ। संशोधनसहित पारित हुन्छ भने ठिकै छ, नभए पारित हुँदैन।’ कार्यदललाई अध्ययन गर्न केही समय लाग्ने पनि उनले बताए।आफूले चुनावपछि मात्र एमसिसी प्रक्रिया अगाडि बढाऊँ भनेर पनि बैठकमा सुझाएको उनले जानकारी दिए। ‘मैले त चुनावपछि मात्रै गरौं भनेको हो,’ उनले भने, ‘यो गठबन्धन टुटाउन षड्यन्त्र भएको छ। हामीले जसरी पनि टिकाउनुपर्छ भनेका छौं।’बैठकमा सहभागी अर्का नेताका अनुसार कार्यदलले आफ्नो पहिलो बैठक भोलि नै डाकेर छलफल अघि बढाउने कुरा भएको छ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल र वरिष्ठ नेता खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल लगायत नेताहरू सहभागी थिए। प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता भने बैठकमा उपस्थित थिएनन्।

यसअघि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकबारे जानकारी दिँदै एमसिसीबारे थप छलफल गर्ने तयारी भइरहेको बताएका थिए। ‘एमसिसीबारे दलका नेताहरूले आफ्ना धारणा राख्नुभयो, केही आशंका पनि आए,’ मन्त्री कार्कीले भने, ‘निरन्तर छलफल गरेर एमसिसीबारे निष्कर्षमा पुग्छौं।’सर्वदलीय बैठकमा सहभागी नेमकिपाका सांसद सुवालले एमसिसीबारे राष्ट्रिय जनमोर्चा, राप्रपासहित आफ्नो पार्टीका नेताहरूले विरोध जनाएको बताए।बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले पनि धारणा राखेका थिए। प्रचण्डले एमसिसीका कतिपय विषय संशोधन गर्नुपर्ने कुरा उठाएका थिए भने नेता श्रेष्ठले एमसिसीमा आफूहरूको असहमति रहेको बताएका थिए।नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले एमसिसी संशोधनविना छलफल नहुने धारणा राखेका थिए। कांग्रेसबाट रामचन्द्र पौडेल र रामशरण महतले एमसिसी नेपालकै हितमा रहेको बताएका थिए। यसअघि नेकपाले २०७६ माघ १९ गते एमसिसी इन्डो-प्यासिफिक रणनीतिको अंग भए-नभएको अध्ययन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले फागुन ९ गते प्रतिवेदन बुझाएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com