Home अर्थ/वाणिज्य आउँदो वर्षबाट नेपालको खेर गइरहेको बिजुली खरिद गर्न बंगलादेश सहमत

आउँदो वर्षबाट नेपालको खेर गइरहेको बिजुली खरिद गर्न बंगलादेश सहमत

by ईलालटिन
0 comment

काठमाडौं । नेपालमा हाल खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ। यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीन् विद्युत खरिद सम्झौता (पिपिए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने छ। नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो। यसबाट ५ अर्ब रूपैयाँ नोक्सान भएको छ। पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो।

बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताए। ‘नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको अवस्था छ,’ उनले भने, ‘त्यो विद्युत हामी खरिद गर्न सक्छौँ।’ उनले नेपालबाट विद्युत आयातका लागि प्रसारण लानइको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए। राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताए।

उनले जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाए। ‘मार्चमा म नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु,’ उनले भने ।उनले बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमती लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सिधै विद्युत खरिद सम्झौता (पिपिए) गराउने गृहकार्य सुरु गर्ने पनि बताए

भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको छ। यो कार्यविधिले अन्तरदेशीय विद्युत व्यापारमा नियमन र कानुनी संयन्त्र सम्बन्धी द्विविधाको अन्त्य गरेको छ। नेपालको बिजुलीको संभाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ।बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ।

नेपालमा उत्पादन हुने विद्युत बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ।भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरे। उनले नेपालका निजी क्षेत्रसँग सिधै पिपिए गरेर विद्युत खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरे।  परिसंघको पूर्वाधार समितिका सभापति एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका उपाध्यक्ष आशीष गर्गले नेपालमा विद्युत उत्पादन र विद्युत खपतको अवस्थाबारे प्रस्तुतीकरण दिए । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com