शान्तिकृष्ण अधिकारी
विचार
नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७७ फागुन ७ गतेदेखि काठमाडौंमा आयोजना हुने भनिएको छ। कांग्रेस विधानअनुसारको केन्द्रीय कार्यसमितिको चारबर्से कार्यकाल गत फागुनमै सकिएको छ। विशेष परिस्थिति उत्पन्न भई महाधिवेशन हुन नसक्ने अवस्था आएमा एक वर्षका लागि कार्यकाल थप्न सक्ने भनी दिएको विशेष सुविधाअन्तर्गत शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति कार्यरत छ। विशेष परिस्थिति के पर्यो भन्नेचाहिँ कसैले पनि जानकारी पाएजस्तो लाग्दैन। नेपालको संविधान र निर्वाचन आयोगले साढे पाँच वर्षभित्रमै महाधिवेशन हुनुपर्नेछ भनेको हुँदा कोरोना महामारीले दिएको यो सुवर्ण अवसरलाई देउवाजत्तिका दूरदृष्टि भएका नेताले चुकाउने छैनन् भनी धेरैले अनुमान गरेका छन्। तसर्थ कांग्रेसको महाधिवेशन २०७८ भदौमा मात्रै हुनेमा अधिकांश विश्वस्त देखिन्छन्।
जुनसुकै पार्टीको महाधिवेशनमा दुइटा कुरा महत्त्वपूर्ण रूपमा उठ्नुपर्छ। ती कहिलेकाहीं उठ्ने गर्छन् र कहिले उठ्दैनन् पनि। एउटा नीति र अर्को नेतृत्व। आगामी दिनका लागि पार्टीले समात्नुपर्ने बाटोबारेमा महाधिवेशनले नै तय गर्नुपर्छ। महाधिवेशनमा तय गरिएभन्दा अन्य मार्ग उचित देखिएमा महासमिति बैठक बोलाई परिवर्तन गर्नुपर्ने प्रावधान कांग्रेसमा छ। यसैलाई नै नीति तय गर्ने भन्छन्। दोस्रो, कुन नेताले पार्टीको नीतिलाई सही दिशा दिएर अगाडि बढाउन सक्छ भनी मन्थन गरेर उपयुक्त पात्रलाई नेतृत्वमा पुर्याउने पनि महाधिवेशनकै दायित्व हो। नेतृत्वका साथै विधानले निर्धारण गरेका अन्य पदमा रहने व्यक्तिको चयन पनि महाधिवेशनले नै गर्छ।
कांग्रेस महाधिवेशन आउनु एक वर्ष अघिदेखि नै नीति र नेताका बारेमा व्यापक चर्चापरिचर्चा चलिरहेको छ। कोही नीति राम्रो भए नेता आफैं असल हुन पुग्छ, त्यसैले अहिले कांग्रेसको महाधिवेशनले नेताभन्दा पनि नीतिलाई बढी जोड दिनुपर्छ भन्छन्। कसैको मतमा नीति र नेता दुवै ठीक हुनुपर्छ अन्यथा पार्टी सही गन्तव्यमा पुग्न सक्दैन भन्ने मत राख्छन्। कतिपयका विचारमा भने पार्टी नीति त यसै पनि सही छ उसै पनि, त्यसैले नेतृत्व चयनमै विशेष ध्यान केन्द्रित गर्नुपर्छ भन्ने छ। आखिर जे होस्, महाधिवेशन नीति र नेता चयनको छलफल र द्वन्द्वमै घुम्ने निश्चित छ।
जुनसुकै पार्टीका विधान तथा नीति र कार्यक्रम हेर्ने हो भने गलत भन्न मुस्किलै पर्छ। सबै पार्टीले कांग्रेसले नै उठाउँदै आएको लोकतान्त्रिक धारलाई अवलम्बन गरेका छन्। कसैले मनैदेखि त कम्युनिस्ट पार्टीहरूले ओठेभक्ति नै सही समातिसकेका छन्। फरक के छ भने काठमाडौंबाट बुटवल जाँदा मुग्लिनसम्म एउटै बाटो र त्यहाँ पुगेपछि नारायणघाट हुँदै जाने कि पोखरा हुँदै भन्ने मात्र हो। संविधानले तोकेको लोकतान्त्रिक समाजवादको लक्ष्यलाई सबैले अँगाल्नुपर्ने बाध्यता छँदै छ तर त्यो लक्ष्य प्राप्तिमा हिँड्दा बुटवल नपुग्दै कुनै पार्टीले नारायणीमा खसाल्ने डर छ भने कुनै पार्टीले कालीगण्डकीमा। वर्तमान सरकारले भने मुग्लिनसम्म पनि नपुर्याउने सम्भावना बढ्दै गएको यो अवस्थामा हुन लागेको कांग्रेस महाधिवेशन कर्मकाण्डी मात्र भएर पुग्ने देखिँदैन, सकुशल गन्तव्यमै पुर्याउने पार्टीका रूपमा दरिनुपर्ने आजको आवश्यकता हो।
कांग्रेसका नीतिमा सामान्य सुधार गरे पुग्छ। धेरै बहसको आवश्यकता देखिँदैन। नेकपाको जस्तो लिखित दस्ताबेजमा कम्युनिस्ट र साम्यवाद अनि बोलीचालीमा लोकतन्त्र र समाजवादजस्ता कुरा कांग्रेसमा छैन। मात्र केको आवश्यकता हो भने कांग्रेसका लिखित दस्ताबेजमा भएका कुरालाई वैचारिक तवरले कार्यान्वयन गर्न सक्ने र कांग्रेसले गरेका कामलाई जनतासामु प्रस्टरूपमा राख्न, बुझाउन र आकर्षण गर्न सक्ने नेतृत्व। कांग्रेसका आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादका बारेमा नागरिकका अगाडि उभिएर कम्तीमा दश–दश मिनेट प्रस्टसँग राख्न सक्ने र तदनुरूप क्रियाशील हुने नेतृत्व आमलोकतन्त्रवादीको चाहना हो।
समाजवाद कम्युनिस्टको पेवा बनेको थियो र छ। समाजवादका प्रणेता माक्र्स कम्युनिस्टहरूकै दार्शनिक हुन्। जनतामा के भ्रम पर्न गयो भने समाजवाद नै लागू गर्ने हो भने कांग्रेसीहरूभन्दा कम्युनिस्ट नै अब्बल ठहरिएलान्। वास्तविकता भने त्यस्तो थिएन। नेपालको संविधानमा लोकतान्त्रिक समाजवाद लेखिएको छ र यसका प्रवर्तक बीपी कोइराला हुन् भन्ने कांग्रेसको नेतृत्वले न आफूले बुझ्न खोज्यो न जनतालाई नै बुझाउन प्रयत्न गर्यो। लोकतान्त्रिक समाजवादको अंग–प्रत्यंगको जानकार कांग्रेस हो र यसको कार्यान्वयनमा कांग्रेसबाहेक अरूमा दक्खल छैन भन्ने स्थापित गर्न कांग्रेसले सकेन। कम्युनिस्टहरूले भनेको समाजवाद र कांग्रेसको समाजवादमा के भिन्नता छ भन्ने कुरा पनि जनतामाझ पुग्न सकेन। त्यसैले कांग्रेसले अहिलेका दुर्दिन भोग्नु परिरहेको छ।
कांग्रेस नेतृत्वका कमजोरीले भनौं या दुर्भाग्यले जेले भए पनि कमजोर रहेका अवस्थामा सबल हुनका लागि कम्युनिस्ट सरकारले पर्याप्त मौका दियो। कुशासन, भ्रष्टाचार, अराजकता आदि उत्पन्न गरेर ‘ल जति सक्छौ विरोध गर’ भन्दा सडक र सदन दुवैमा कांग्रेस मौन रह्यो। संसद्मा मौन रह्यो भन्दा गगन थापा, बद्री पाण्डे, मीनेन्द्र रिजाल, प्रकाश रसाइली र रमेशजंगहरूको चित्त दुख्ला तर पार्टी सभापति र महामन्त्री नै उपस्थित भएको सदनको त्यो हविगत हुन हुँदैन भन्नेमा सायद उनीहरू पनि सहमत होलान्। बरु भ्रातृ संगठनहरू र शुभेच्छुक संस्थाहरू अधिवेशनविहीन बने, कार्यकाल लगभग सकिएपछि विभागहरू गठन हुन पुगे र आफ्नै पार्टीभित्र रडाको मच्चाउने काम भयो।
यसर्थ पनि के पुष्टि हुन्छ भने पार्टीको नीति त यसै राम्रो हुन्छ र छ नै, यसको कार्यान्वयनकर्ता सक्षम र असल हुनुपर्छ। बीपी कोइराला पार्टी सभापति हुँदा कांग्रेसको विधानमा समावेशीताको कुनै कुरा उल्लेख गरिएको थिएन तथापि उनको कार्यसमितिमा दलित महामन्त्री, मधेसी, महिलादेखि जनजातिसम्म सबैको प्रतिनिधित्व थियो। कोइराला २०१६ सालमा प्रधानमन्त्री हुँदा नेपालको संविधानले समावेशी भन्ने शब्द सुनेको सम्म पनि थिएन यद्यपि सबैखाले नागरिकको सहभागिता थियो। ब्राह्मण–क्षेत्रीहरू मात्रकै प्रतिनिधि चयन गरेर पार्टी गठन या सरकार निर्माण गरेको भए पनि त्यसबखत विरोधको कुनै स्वर गुन्जने थिएन र पनि समावेशी बनाएका थिए। नेतामा हुनुपर्ने दृष्टि भनेको यही नै हो, नेता बाँधिने भनेको यसैगरी आफ्नै चरित्र र नैतिकताले हो, विधान र कानुनले होइन।
नेपालमा क्रियाशील सबै पार्टीहरूभन्दा कांग्रेस बढ्ता समावेशी छ। यसका केन्द्रीय समितिदेखि वडा तहसम्मका सबै निकाय सबै लिंग, जातजाति र समुदायका प्रतिनिधिहरूले शोभायमान बनाएका छन्, सुन्दर बनेका छन्। जसरी एउटै फूलको मालाभन्दा रंगीचंगी विभिन्न थरीका फूलहरूका माला सुन्दर देखिन्छ, कांग्रेस त्यस्तै बनेको छ। प्रतिस्पर्धी पार्टीहरूले कांग्रेसलाई सामन्तहरूको पार्टी भन्ने आरोप लगाइरहेका छन्, जातजातिको नारा उछालेका छन् तर ती समावेशी छैनन्। वास्तवमा बाहुन–क्षेत्रीका साथै सामन्तहरूको पार्टी भन्न सुहाउने तिनै छन् तर कांग्रेस नेतृत्वले चिर्नै सकेन, जनतामा यथार्थ सञ्चार गर्नै सकेन।
अब पनि यस्तै हुने हो भने कांग्रेस र कांग्रेसीले अझ दुःखका दिन व्यहोर्नुपर्ने निश्चित छ। अहिलेसम्म शेरबहादुर, रामचन्द्र, विमलेन्द्र, शशांक, शेखर, प्रकाशमान, गगनहरूले सभापतिको प्रत्याशी हुने घोषणा गरेका छन्। गएको कार्यकालमा के गरें र आगामी दिनमा के गर्छु भन्ने कुरा देउवाबाट आउन सकेको छैन र आयो भने पनि के आउँछ भन्ने धेरैलाई अनुमान छ। विचारका आधारमा नेतृत्व दावी गर्ने कोही देखिएका छैनन् भन्दा पनि हुन्छ। पार्टीमा बिताएको जीवन र विरासतका आधारमा मात्रै सभापति बन्ने घोषणा गरिएको छ। रामचन्द्र पौडेलले भने समाजवादका व्याख्या र पुनव्र्याख्या गर्दै पुस्तक, पुस्तिका तथा लेखहरू प्रकाशित गरिरहेका छन्।
सभापति मात्रै होइन, अर्को महत्त्वपूर्ण पद महामन्त्रीमा चर्चा चल्नै सकेको छैन। नवीन्द्रराज जोशी कांग्रेसमा विचार निर्माण गर्न दिनहुँ सक्रिय छन्। कार्यकर्ता माझमा मात्रै होइन, मन्त्री हुँदा स्वच्छ छवि कायम गरेका कारण देशमै चर्चित छन्। उनको क्रियाशीलता हेर्दा महामन्त्रीमा उम्मेदवारी देलान् जस्तो देखिए पनि हालसम्म घोषणा गरेका छैनन्। नयाँ त होइनन् तर कांग्रेसको अवस्थाले नयाँ भनिने पुस्ताका गगन थापाले अघिल्लै महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरिसके भने यसपटक कोही युवा सभापतिका लागि अघि सर्छ भने सघाउने अन्यथा आफैं उठ्छु भनिरहेका छन्। नेविसंघको अध्यक्ष तथा महामन्त्री भएका पुराना नेताहरू धेरै छन् तर अहिलेसम्म विमलेन्द्र निधिबाहेक अरू मौन छन्। विचार र क्रियाशीलताका हिसाबले सबल धेरै नेताहरू छन्। यस्तै ५० नाघेका सबै नेताहरूको अहिलेसम्मको परिदृश्य हेर्दा कांग्रेसको सभापति दाबी नगरी नै राजनीतिबाट टाढिने हुन् कि भन्ने शंका लाग्न थालेको छ।
कांग्रेसले प्याराडाइम सिफ्ट गर्नैपर्ने देखिन्छ। विचारमा त्यति धेरै परिवर्तन आवश्यक छैन, नेतृत्वमा भने व्यापक परिवर्तन जरुरी छ। ५० देखि ६० वर्ष उमेर समूहका नेताहरूले अहिले पनि उपसभापति र महामन्त्रीसम्मको चुनाव नलड्ने हो भने कांग्रेसको सभापति हुन ७५ वर्ष पुगेकै हुनुपर्छ भनी विधानमै लेखिदिए हुन्छ। होइन भने पुराना र इमानदार सदस्यहरूको मूल्यांकन पद्धतिसहितको भ्रष्टाचारविरोधी कांग्रेस निर्माण गर्न विचार समूह गठन गरी चुनावमा होमिनैपर्ने हुन्छ। उमेरकै पालो कुरेर या कसैको दौराको फेरो समातेर मात्रै माथि जाने चाहना राख्ने हो भने कतिपटक केन्द्रीय सदस्य मात्रै बन्ने ? वि श्राम लिँदा नै उपयुक्त हुन्छ।
अबको नेतृत्व भनेको कांग्रेसलाई आगामी स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा होमेर अग्रणी पार्टी बनाउन सक्षम हुने खालको हुनुपर्छ। माओवादी शान्ति प्रक्रियापछि नराम्रोसँग पछारिएको कांग्रेसलाई सुशील कोइरालाको नेतृत्वमा चुनावमा होमिँदा उनको सादगी जीवनशैलीले सहयोग गरेको थियो। कारण त्यति मात्रै थिएन होला तर जनताले मूल नेतृत्वको चरित्र हेरेकै हुन्छन्। मूलै धमिलो भए तल सफा हुनै सक्दैन। त्यसैले गुटउपगुटभन्दा माथि उठेर सक्षम, वैचारिक एवं सादगी नेतृत्व चयन गर्नुपर्ने ठूलो दायित्व महाधिवेशन प्रतिनिधिहरूसँग हुनेछ। चाणक्यले भनेका थिए– राज्य सञ्चालन गर्ने व्यक्तिको मूल धर्म हो, सद्विचार र सदाचरण। जसमा यी दुई गुण हुन्छन्, उही नै राज्य सञ्चालनको हकदार हुन्छ।
जनताले मूल नेतृत्वको चरित्र हेरेकै हुन्छन्। मूलै धमिलो भए तल सफा हुनै सक्दैन। त्यसैले गुटउपगुटभन्दा माथि उठेर सक्षम, वैचारिक एवं सादगी नेतृत्व चयन गर्नुपर्ने ठूलो दायित्व महाधिवेशन प्रतिनिधिहरूसँग हुनेछ।